काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव समस्याको समाधान नभएको बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित राप्रपाको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले २०८४ को चुनाव २०८२ मा गर्दैमा वा मान्छे फेर्दैमा देशले निकास नपाउने दाबी गरे। ‘अब चुनाव गर्ने र देशलाई अघि लैजाने मात्रै सोचेको छ भने त्यो भ्रम हुनेछ,’ उनले भने।
अध्यक्ष लिङ्देनले अहिलेकै व्यवस्था र प्रणालीमार्फत गरिने चुनावले समस्याको समाधान नदिने भन्दै आक्रोश पोखे। उनले भने, ‘जेनजी आन्दोलनको दुई दिन नबित्दै प्रतिगमन भयो। उही निर्वाचन, व्यक्ति परिवर्तन मात्रै भयो। यो समस्याको समाधान होइन।
देशलाई भूराजनीतिको चक्रब्युहबाट मुक्त गर्नका लागि चुनावअघि नै राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी कायम गर्न आवश्यक रहेको समेत बताए ।
भदौमा भएको युवा विद्रोह (जेनजी आन्दोलन) को मर्मलाई लत्याउँदै त्यसको दुई दिन नबित्दै प्रतिगमन भएको टिप्पणी गरेका छन्। उनले व्यवस्थामा रहेका त्रुटिहरू नसच्चाई केवल चुनावमा जानुले समस्यालाई पर धकेल्ने काम मात्र गर्ने बताए ।
लिङ्देनले जनता र युवाहरूको आक्रोश केवल प्रधानमन्त्री परिवर्तनका लागि मात्र नभएको स्पष्ट पारे। उनले भने, ‘जनताको आक्रोश केवल त्यसबेलाको प्रधानमन्त्री केपी ओलीलाई हटाएर सुशीला कार्कीलाई सडकबाट टिपेर बालुवाटार वा सिंहदरबारमा राख्नका लागि मात्रै भएको थिएन।’
उनले यो विद्रोह देशमा शान्ति, स्थायित्व र युवाले आफ्नै देशमा गरिखाने वातावरण निर्माणका लागि भएको जिकिर गरे।
विगतमा राजा र राजनीतिक दलहरूबीच नयाँ समझदारी आवश्यक रहेको बताउँदा दलहरूले मजाक बनाएको उनले स्मरण गरे।’हामीले भनेका थियौँ– तपाईंहरू सुध्रिनुहुन्न भने भाग्नुपर्ने दिन आउन सक्छ,’ लिङ्देनले भने,’त्यसलाई हाँसीमजाकमा उडाइयो। उल्टै यत्रो संस्था देखाएर हामीलाई भाग्नुपर्छ भन्ने रु भनियो। तर आखिर देशमा त्यही अवस्था आयो।’















