एमाले जेनजीको भावना र माग विपरीत छैन : विष्णु पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले कहिल्यै पनि जेनजीको भावना र माग विपरीत नभएको दाबी गरेका छन् । बुधबार प्रेस चौतारी नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले नेकपा एमाले जेनजीका विरुद्ध नरहेको र नरहने बताएका हुन् ।

‘एमाले जेनजीका जायज माग सम्बोधन गर्ने पार्टी हो एमाले’, पौडेलले भने– ‘जेनजी मुभमेन्ट अलमलको कुरा होइन । जेनजी मुभमेन्ट र नेकपा एमाले विपरीत दिशामा थियो भनेर जुन भाष्य बनाइएको छ त्यो भाष्य सत्य होइन । एमाले कहिल्यै पनि जेनजीको भावना र माग विपरीत थिएन र छैन ।’

उपाध्यक्ष पौडेलले राष्ट्रिय राजनीति जहाँ आइपुगेको छ त्यो चिन्ता र चासोको विषय भएको समेत बताए । संविधानलाई लिकमा फर्काउने सहज बाटो प्रतिनिधिसभाको पुनर्स्थापना नै उपयुक्त विकल्प भएको पौडेलको भनाइ छ ।

‘नेपाली जनताको ७ दशक लामो त्याग र बलिदानबाट निर्माण भएको संविधानमा कहीँ ल्याकिङ भए विकसित गर्न सकिन्छ तर यसको विकल्प खोज्ने कुरा मान्य हुँदैन’, पौडेलले भने– ‘यसको रक्षा र समयसँगै गतिशील विकासबाट मात्र देश र जनताको अपेक्षा पुरा गर्न सक्छौ । संविधानमाथि आक्रमण गर्ने र धावा बोल्ने काम भइरहेकाले यसको रक्षा गर्ने बाटोमा हिँड्नुपर्छ । त्यसो नगरे नेपाल र नेपालीको दुर्दिन हुन्छ ।’

नेता पौडेलले आर्थिक र सामाजिक रूपले नागरिकलाई सम्पन्न बनाउन एमाले लागिरहेको भन्दै आगामी निर्वाचनमा जाँदा पनि सोही किसिमका घोषणापत्र बनाउने बताए । उनले फागुन २१ को चुनावबारे सरकारले चुनाव चुनाव भने पनि अनुकूल वातावरण बनाउने कुरामा ध्यान नगएको आरोप लगाए ।

‘हामी दलीय व्यवस्थामा छौँ । यो व्यवस्थाका स्टेक होल्डर राजनीतिक पार्टीलाई किनारामा राखेर, स्थान हद गरेर चुनाव हुँदैन’, उनले भने– ‘दलहरू निर्बाध रूपमा जनतामाझ जान पाउनुपर्‍यो त्यो नभएसम्म चुनाव हुँदैन ।’

अपराधीहरू खुलेआम हिँडिरहेको, हतियारहरू अपराधीहरूसँग रहेको अवस्थामा यो सरकारले चुनाव गराउँछ भन्नेमा आश्वस्त हुन नसकेको बताए ।

  • १७ मंसिर २०८२, बुधबार १४:०८ प्रकाशित