पटक पटक सर्दै आएको कांग्रेस बैठक आज बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दै छ । महाधिवेशनको विषयमा विवाद हुँदा कांग्रेस बैठक पटक-पटक सर्दै आएको छ । सोहीअनुरुप पछिल्लो पटक आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सारिएको थियो ।

कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने तय भएको जानकारी दिए ।यसैबीच नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशन माग गरेको प्रस्ताव फिर्ता भए पुसमा नियमित महाधिवेशन गर्न मान्ने भएको छ ।

आइतबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न गएका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर फिर्ता भए मान्ने बताएका हुन् ।

भेटमा देउवाले पुसमा १५ औँ महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने बताएका थिए । त्यसको जवाफमा केन्द्रीय सदस्यहरूले आफूहरू निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न तयार रहेको तर विशेष महाधिवेशनको माग गर्दै बुझाइएको हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त अघि सारेका थिए ।

  • १५ मंसिर २०८२, सोमबार ११:०० प्रकाशित