काठमाडौं ।
पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कुल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा रहेको देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव ७ जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । वयस्क जनसङ्ख्यामा शून्य दशमलव १३ प्रतिशत सङ्क्रमण (प्रिभ्यालेन्स दर) रहेको छ ।
केन्द्रले सार्वजनिक गरेको ‘एचआईभी फ्याक्ट सिट २०२५’का अनुसार सन् २०२४ को अन्त्यसम्ममा नेपालमा २६ हजार ३७२ सङ्क्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् र अनुमानित कुल एचआइभीको सङ्क्रमितमध्ये ७७ प्रतिशत एआरभी उपचारररत छन् ।
सन् २०२४ मा ६१४ व्यक्तिमा एचआईभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ भने ५६९ व्यक्तिहरुको एड्सका कारणले मत्यु भएको अनुमान गरिएको छ । सो वर्षमा ३७ बच्चामा (०–१४ वर्ष) नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ ।
नेपालमा एचआईभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहहरु सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मीहरु, कारागारमा रहेका कैदी बन्दीहरु, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि बिदेसिनेहरु छन् ।
नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ अर्थात् ९५ प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड)न्यून हुनुपर्ने भनिएको छ ।
सरकारले हाल ६४ जिल्लाका ९६ एआरटी केन्द्रहरुबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ । रासस














