जनकपुरधाम ।
प्रदेश २ सभाको आज बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
प्रदेश सभा सचिवालयका सचिव रंजित यादवका अनुसार बैठकमा प्रतिवेदन प्रस्तुत भएपछि यस उपर छलफल हुनेछ ।
प्रदेशको नाम र राजधानी दलीय सहमतिको आधारमा तय गर्न १३ पुसमा बसेको प्रदेश सभा बैठकले संसदीय अध्ययन विशेष समिति गठन गरेको थियो ।
समितिमा पटक(पटक छलफल भएपनि सहमति हुन सकेको छैन् । दलहरू आ-आफ्नै अडानमा छन् ।
प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश प्रस्ताव गर्दा कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेको छ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गर्दा कांग्रेसकै सांसद राजेश्वर साहले मध्य मधेश प्रस्ताव दर्ता गराएका छन् ।
राजधानीका लागि जनकपुरधाम र वीरगञ्जको प्रस्ताव दर्ता भएको छ ।