काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुँदे सामूहिक अपिल जारी गरेको छ।
बैठकपछि जारी संयुक्त अपिलमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिको छ। साथै, घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
संयुक्त अपिलमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आह्वान गरिएको छ।
अपिलमार्फत प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका सबै तहका समितिलाई निर्देशन दिइएको छ।
भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनीतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
त्यस्तै, संवेदनशील अवस्थालाई थप जटिल बनाउन सक्ने भ्रामक समाचार, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहँदै सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न नागरिकलाई अपिल गरिएको छ। सञ्चारमाध्यमलाई पनि तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ।
सर्वदलीय बैठकले नेपाल सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीउपर कानुनबमोजिम कारबाही, पीडितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई शीघ्र सामान्य बनाउन माग गरेको छ।
बैठकले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ।













