स्वतन्त्र पत्रकार संघको केन्द्रीय महाधिवेशन फागुनमा

केन्द्रभाग मिडिया

पोखरा ।

स्वतन्त्र पत्रकार संघ नेपालको पाँचौं केन्द्रीय महाधिवेशन तथा १४ औं वार्षिक साधारणसभा आगामी फागुन २४ गते हुने भएको छ ।

संघको बिहीबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशन नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–१ मा हुने केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए । यसैगरी, पुस मसान्तभित्र जिल्ला शाखाका अधिवेशनहरु सम्पन्न गर्ने र माघ १५ भित्र शाखाका सम्पूर्ण सदस्यहरुको व्यक्तिगत विवरणसहितको फाइल केन्द्रमा बुझाउन पनि जिल्ला शाखाहरुलाई सूचित गरिएको छ ।

महाधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । देशभरका २९ जिल्लामा शाखा रहेको स्वतन्त्र पत्रकार संघको अघिल्लो अधिवेशन पनि गैंडाकोटस्थित मौलाकालिकामा भएको थियो ।

स्वतन्त्र पत्रकार संघको स्थापना २०६८ फागुन २४ गते, फागुपूर्णिमाका दिन पोखरामा भएको थियो ।

  • ११ मंसिर २०८२, बिहीबार ०९:३३ प्रकाशित