वैकल्पिक शक्तिहरूलाई एकजुट हुन रास्वपाको आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन रास्वपाको आह्वान गरेको छ ।

रास्वपाको सचिवालय बैठकले यस्तो आह्वान गर्ने निर्णय गरेको हो । सचिवालय बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भएको थियो ।

त्यसआधारमा सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन सकिने विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार पार्टीको केन्द्रीय समितिको यही ३ मंसिरमा बसेको बैठकको निर्देशानुसार सबै वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउनेगरी अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय समेत भएको छ ।

‘सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरू मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो’ बुर्लाकोटीले जानकारी दिए ।

  • १० मंसिर २०८२, बुधबार १२:३५ प्रकाशित