काठमाडौं ।
आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन ५६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० वटा दल दर्ता भएकोमा आइतबार मात्रै थप १६ दल थपिएका हुन् ।
आइतबार दर्ता हुनेमा विघठित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसदेखि नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल र युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी छन् ।
यस्तै, जय मातृभूमि पार्टी, नेपाल नौलो जनवादी पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वाभिमान पार्टी, जनप्रजातान्त्रिक पार्टी र जनता प्रगतिशिल पार्टी निर्वाचनमा भाग लिनका लागि शुक्रबार दर्ता भएका हुन् ।
निर्वाचन आयोगका अनुसार १० मंसिरसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल र ७ मंसिरसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराइसक्नुपर्नेछ ।
यस्तै आगामी ११ माघमाका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको संख्या १३ पुगेको छ । आइतबार नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टी आगामी निर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता भएका छन् ।















