पुतलीबजारका किसानलाई कुखुराका चल्ला र दान वितरण

केन्द्रभाग मिडिया

स्याङ्जा ।

‘मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम’ अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिकाले कुखुराका चल्ला र दाना वितरण गर्न थालेको छ । नगरपालिकाले पहिलो चरणमा वडा नं.–१, २ र ३ मा कुखुराको चल्ला तथा दाना वितरण गर्न थालेको हो ।

कृषि उत्पादनको प्रवद्र्धन, आय–आर्जनको अवसर सृजनासँगै विस्तार तथा स्थानीय किसानहरूको जीविकोपार्जनमा योगदान पु¥याउने उद्देश्यले चल्ला सहित दाना निशुल्क उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । वडा कार्यालयको सिफारिसमा नगरका १४ वटै वडाका कुखुरापालक किसानहरुलाई कुखुरा र दाना बितरण गरिने भएको छ ।

नगरका प्रत्येक वडालाई ७ सयका दरमा झण्डै १० हजार कुखुराका चल्ला र ७० किलोका दरमा एक हजार किलोग्राम दाना समेत उपलब्ध गराईने भएको छ । कार्यक्रम गर्न चालु आर्थिक वर्षका लागि ३६ लाख रुपैयाँ विनियोजन भएको नगरपालिकाका पशु शाखा प्रमुख अनिल चौधरीले जानकारी दिए ।

किसानलाई उपलब्ध गराउने चल्ला उन्नत जातकै कुखुराका चल्ला भएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराबाट खरिद गरी ल्याइएको कुखुराका चल्ला तथा दाना निशुल्क रूपमा वितरण करिब एक महिनाको अवधिमा सकिने भएको छ ।

स्थानीय किसानलाई चल्ला, दाना सहितका सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले ब्यवसाय संचालनका लागि जागरुक किसानलाई व्यावसायिक बनाउँदै पुतलीबजारलाई मासुमा आत्मनिर्भर बनाउने नगरको योजना रहेको सुनाए ।

  • ७ मंसिर २०८२, आईतवार १९:०४ प्रकाशित