पोखरा ।
गत २३ र २४ भदौमा भएको जेन्जी आन्दोलनका कारण उत्पन्न परिस्थितिबाट सत्ताच्युत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको बैधता माथि प्रश्न उठाएका छन् । नेकपा एमालेले शनिबार संघीय राजधानी काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको बैधता माथि प्रश्न उठाएका हुन् । उनले वर्तमान कार्की नेतृत्वको सरकारलाई ‘अनधिकृत व्यक्तिको अराजकतामा आधारित उत्पातबाट सृजना भएको सरकार’ भनेका छन् ।
वर्तमान सरकार कुनैपनि हालतमा तत्काल ढल्नुपर्ने उनले तर्क गरे । ‘नेपाली जनताको प्रतिनिधिले मात्र सरकार चलाउन पाउँछ । आगो लगाएर, घर जलाएर, अफिस जलाएर, तोडफोड गरेर, आतंक फैलाएर सरकारमा आएका छन् ।’ उनले भने, ‘अनधिकृत व्यक्तिको अराजकतामा आधारित उत्पातबाट सृजना भएको यो सरकार तत्काल हट्नु पर्दछ’
एमाले अध्यक्ष ओलीले बर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नभएको उल्लेख गरे । ‘कसले दियो तपाईलाई चुनाव गराउने अधिकार ? तपाई सरकारबाट हट्नुपर्छ,’ उनले भने ।
संसद अनुचितढंगले विघटन भएको भन्दै त्यसको पुनस्थापना हुने उनले दाबी गरे । संसद पुनस्थापना गर्ने, सर्वदलीय संसदीय सरकार बनाउने र सर्वदलीय सहमतिबाट संविधान संसोधन गरेर जेनजीको माग पुरा गर्दै निकास निकाल्न सकिने उनको तर्क छ ।
ओलीले सबै राजनीतिक दललाई भावनामा नबग्न पनि आग्रह गरेका छन् । उनले एकछिनका लागि भ्रममा पर्न नहुने भन्दै कसैसंगको प्रतिसोधको भावनाले लोकतन्त्र गएकोमा ताली पिट्न नहुने टिप्पणी गरे । उनले असंबैधानिक सरकारको पछि पछि जन्ती गएजस्तो भएर नहिँडन अन्य दलहरुलाई अग्रह गरे ।















