काठमाडौं।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
मंगलबार राजधानीको विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आफू निकटका युवा कार्यकर्ताहरूसँग डा। कोइरालाले ढिलोमा पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको बताएका भेटमा सहभागी भुवन भट्टले जानकारी दिए ।
‘मैले पहिलेदेखि नै २०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्यो भन्दै आएको छु । अहिले नियमित अधिवेशन कसैले वैशाखमा भनिरहेका छन् । मेरो कुरा मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौँ भन्ने छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै भट्टले भने ।
यदि पुस मसान्तभित्र १५ औँ महाधिवेशन हुन सकेन भने केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्ने कोइरालाले बताए ।
विशेष महाधिवेशनमा जाँदा अहिले हस्ताक्षर बुझाएका ५४ प्रतिशतको सनाखत गर्दा पार्टी फुट्न सक्ने भन्दै डा।कोइरालाले केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर जाँदा उपयुक्त हुने बताए ।
‘पुसभित्रै नियमित महाधिवेशन हुन सकेन भने केन्द्रीय समितिबाट विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णय गर्ने,’ कोइरालाले भने, ‘यसो गरियो भने विवाद कम हुन्छ र पार्टीलाई फुटबाट बचाउँदै एकताबद्ध बनाउन सकिन्छ।’
आफू पार्टी विभाजनको पक्षमा नरहेकाले पार्टी केन्द्रीय कार्यालयमा बुझाइएका हस्ताक्षरको सनाखत गर्न हुन्न भन्ने पक्षमा आफू रहेको कोइरालाले बताएका थिए ।
कांग्रेसमा सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचनभन्दा अगाडि महाधिवेशन गर्ने कि पछाडि गर्ने भन्नेमा विवाद छ ।















