कांग्रेसका २४ केन्द्रीय सदस्यका मागमा विजयकुमार र शशांकको ऐक्यबद्धता

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको संस्थापन समूहका २४ केन्द्रीय सदस्यको ७ बुँदे मागमा दुई पूर्वपदाधिकारीले ऐक्यबद्धता जनाएका छन् ।

गत कात्तिक २६ गते संस्थापन समूहका २४ केन्द्रीय सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया मंसिरभित्र सुरु गर्नुपर्ने लगायतका ७ बुँदे माग पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए ।

ती मागमा सोमबार पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री डा।शशांक कोइरालाले ऐक्यबद्धता जनाएको केन्द्रीय सदस्य आङगेलु शेर्पाले जानकारी दिए ।

‘हाम्रो ७ बुँदे मागमा संस्थापन पक्षमा दुई पूर्वपदाधिकारी विजयकुमार गच्छदार र डा। शशांक कोइरालाले आज ऐक्यबद्धता जनाउनुभयो,’ केन्द्रीय सदस्य शेर्पाले रातोपाटीसँग भने, ‘त्यसबाहेक कार्यसम्पादन समितिका सदस्यहरूले पनि ऐक्यबद्धता जनाउनु भएको छ । मीन विश्वकर्मा र श्यामकुमार घिमिरेले आज ऐक्यबद्धता जनाउनुभयो ।’

२४ केन्द्रीय सदस्यको सोमबार ललितपुरमा तीन घण्टा बैठक बसेको थियो । बैठकले अभियानलाई थप सशक्त बनाउने निर्णय गरेको शेर्पाले जानकारी दिए । साथै अभियानमा थप १० केन्द्रीय सदस्य थपिन चाहेको पनि उनले बताए ।

२४ केन्द्रीय सदस्यहरूको ज्ञापनपत्रमा सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मङ्सिर १५ गतेभित्र सुरु गर्नुपर्ने उल्लेख छ ।

ज्ञापनपत्रमा महाधिवेशन सम्पन्न गर्ने पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समय सीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने उल्लेख छ ।

  • १ मंसिर २०८२, सोमबार १६:११ प्रकाशित