काठमाडौं ।
जिल्ला अदालत काठमाडौँले महाराजगञ्जमा प्रहरी जवान उत्तम थापाका हत्या आरोपी ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आइतबार प्रहरी जवान थापा हत्याका आरोपी गोर्खाका २२ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र पर्सा घर भएका २० वर्षीय युनिक श्रेष्ठ र सिन्धुलीका १९ वर्षीय विनोद कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाएका थिए ।
प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि पनि पुर्पक्षका लागि कारागार चलान भएका थिए । यसअघि काठमाडौँ जिल्ला अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक छन् ।
काभ्रेको रोशी गाउँपालिका घर भएर बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान उत्तम थापालाई कुटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष निकालेको थियो ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएर धुम्बाराही बस्ने ६२ वर्षीय पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएर बालकुमारी बस्ने २८ वर्षीय टिकाराम विकले असई रायको हत्या गरेको अनुसन्धानमा खुलेपछि प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो ।














