पोखरा ।
नेपाली कांग्रेसका गण्डकी स्थित नेता कार्यकर्ताहरुले आफ्नो पार्टीमा पहिला नेतृत्व हस्तान्तर अनि त्यसपछि मात्र निर्वाचनमा जानुपर्ने निस्कर्ष निकालेका छन् । कांग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रतिनिधिहरुको भेलामा सहगागी नेता कार्यकर्ताले यस्तो निस्कर्ष निकालेका हुन् । भेलाले पहिला नेतृत्व हस्तान्तरण गरेरमात्र निर्वाचनमा जानुपर्ने निर्णय नै गरेको नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले जानकारी दिए ।
उनका अनुसार जेनजी आन्दोलनपछि मुलुकको वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको जिम्मेवारी र १५ औं महाधिवेशनको सम्बन्धनमा विशेष भेला आयोजना गरिएको हो । भेलामा सबै जिल्लाका सभापतिसहित, महाधिवेशन प्रतिनिधि, सबै पालिकाका सभापति, गण्डकी प्रदेशसभा सदस्यसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि समेत गरेर ८०० को हाराहारीमा नेता कार्यकर्ता सहभागी थिए । भेलामा सहभागी मध्ये अधिकांशले २७ मंसिर भित्रै नियमित महाधिवेशन गर्ने र नभए विशेष महाधिवेशनको विकल्प नभएको बताएका थिए ।
भेलामा बोल्ने केही प्रतिनिधिले अहिलेकै नेतृत्वमा चुनावमा गए कांग्रेसका उम्मेदवारलाई जिताउन मत माग्न जान नसकिनेसमेत बताए । उनीहरुले सकेसम्म नियमित ५४ प्रतिशत महाधिवेशनको मागअनुसार विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व र नीतिका साथ चुनावमा जानुपर्ने आवाज उठाएका हुन् ।
भेलाले चार वटा निर्णय गरेको छ । विशेष गरी अब पनि कांग्रेस रुपान्तरण र नेतृत्व हस्तान्तरणमा रोकिने हो भने ठूलो पराजय हुनबाट रोक्न नसकिने भेलाको निस्कर्ष रहेको सभापति शर्माले बताए ।















