पोखरा ।
पोखरामा तेस्रो संस्करणको इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । पोखरा १३ अर्बा विजयमा बिहीबारदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।
प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा पर्यटनको राजधानीसँगै साहसिक खेलकुदको केन्द्रका रुपमा समेत स्थापित भइरहेको बताए । विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्रयाकमा प्रतिस्पर्धा गर्न बढी नै रुचाउने गरेको उनले बताए ।
‘ड्रागन बोट रेस, क्रस कन्ट्रीलगायत धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुँदै आएकोले पनि खेलकुद सँगै पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुगेको छ ,’ उनले भने । प्रतियोगितामा जर्मनी, सिंगापुर, अस्ट्रेलिया, बेलायत, श्रीलङ्का, ओमान, अमेरिका र नेपाल गरी ८ देशका ४५ साइक्लिष्ट सहभागी छन् ।
अझै धेरै साइक्लिष्ट सहभागी हुन इच्छुक भएपनि भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनका कारण सहभागी घटेका आयोजक कम्पनी डन टिल डस्कले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्मा भन्छन्, ‘सहभागी सोचे भन्दा कम भएपनि जति आउनुभएको छ । उहाँहरू पोखराको यो मौसम र भौगोलिक बनावटले निकै खुसी हुनुहुन्छ ।’
पोखरा १३ का वडाध्यक्ष किरण बरालले ‘पोखरा इन्ड्युरो रेस’ पोखराकै ब्रान्डका रूपमा स्थापित भइसकेको बताए । ‘यो वार्षिक क्यालेन्डरमा गइसकेको छ । इन्ड्युरो रेस पोखराको एक ब्राण्ड हो,’ उनले भने । प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरी ६ विधामा ६ वटै ट्रयाकमा स्पर्धा हुनेछ ।














