काठमाडौं ।
नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेका मातृभूमी जागरण अभियानका संयोज डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा सम्माहित हुँदैछन् । उनी आज काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन् । कार्यक्रम आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ । कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने तयारी छ ।
गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई पनि आबद्ध गराउने तयारी थियो । कार्यक्रमको मञ्चबाटै प्रचण्डले भीम रावल आउन लागेको बताएका थिए । तर रावलबारे ‘थप छलफल’ आवश्यक रहेको भन्दै त्यतिबेला मिसिने निर्णय गरेका थिएनन् ।
गत आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला, भानुभक्त जोशीलगायतसँग छलफल भएपछि भने रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन सहमत भएका थिए ।
गत वर्ष पुसमा डा. रावललाई एमालेले अनुशासन उल्लंघन गरेको भन्दै पार्टीबाट निस्कासन गरेको थियो । स्रोतका अनुसार रावललाई नेपाली कम्युनिस्ट पार्टीमा छैटौं वरीयता दिने सहमति नेताहरुबीच भएको छ । रावलको समूहका नेता–कार्यकर्ताहरुलाई उचित स्थान दिने समझदारी पनि भएको छ ।















