पोखरा ।
विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै नेकपा एमालेले देशका सबै स्थानीय तहमा प्रदर्शन गरेको छ । एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत मंगलबार विभिन्न पालिकाहरूमा मोटरसाइकल र्याली र नारा जुलुस सहितका र्याली गरिएका एमाले मुख्यालयले जनाएको छ । एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो । एमाले नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधिसभा विघटन विरुद्ध देशैभर प्रदर्शन गरिएको जानकारी दिए ।
यसैक्रममा कास्कीको पोखरा महानगर कमिटीले तालचोक देखि सिसुवासम्म र्याली गर्दै कोणसभा गरेको छ । सो कोणसभालाई एमाले स्थायीसमिति सदस्य एवं गण्डकी गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराराज अधिकारीले सम्बोधन गरे । कोणसभालाई सम्बोधन गर्दै उनले अहिले सिंगो देश र एमाले पार्टी माथि नै बाहिय र अन्तरिक शक्तिहरुले आक्रमण गरेकाले एकजुट भएर त्यसको सामना गर्नुपर्ने बताए ।
एमाले रुपा गाउँकमिटीले वडा ६ मा थापा खलकको समाजघर कार्यक्रम गरेको छ । मादी गाउँ कमिटीले झ्याली पोखरीदेखि याङ्जाकोट हुँदै दोबाटोमा पुगेर कोण सभा गरेको छ । माछापुच्छ्रे गाउँकमिटीले लाचोकमा र अन्नपूर्ण गाउँकमिटीले लक्ष्मी देउरालीमा कोणसभा गरेको एमाले कास्कीका सचिव दर्शन लामाले जानकारी दिए ।
आफूहरूको प्रदर्शनलाई जागरण अभियानको रूपमा अघि बढाइएको उनले बताए । एमालेले २९ कात्तिकमा जिल्लास्तर र आगामी ६ मङ्सिरमा काठमाडौँमा जनप्रदर्शन गर्ने तयारी गरेको छ ।















