मुख्यमन्त्री नियुक्तिको विषयले मधेशमा तनाव, प्रदेश भवन अगाडि प्रदर्शन, कर्मचारी कुटिए

केन्द्रभाग मिडिया

काठमाडौं ।
मधेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर तनाव उत्पन्न भएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि प्रदर्शन जारी छ ।

मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेपछि यही २२ कात्तिकमा प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरेका थिए ।

एमालेबाट प्रदेश प्रमुख नियुक्त सुमित्रा सुवेदी भण्डारीले आज बिहान संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दल एमाले दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । यी विषयले मधेश प्रदेशमा तनाव उत्पन्न भएको हो ।

नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव मधेश भवन आउने सूचना पाएपछि विरोधमा रहेका दलका नेता–कार्यकर्ताहरुले उनलाई रोक्ने प्रयासमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

मुख्यमन्त्री नियुक्तिबारे पार्टीभित्र छलफल नभएको भन्दै एमालेभित्र पनि असन्तुष्टि छ ।

  • २४ कार्तिक २०८२, सोमबार १३:४६ प्रकाशित