काठमाडौं ।
हङकङ सिक्सेस अन्तर्गतको बाउल लिगमा नेपालले भारतलाई पराजित गरेको छ । फाइनलबाट बाहिरिएको नेपालले बाउल लिगमा भारतलाई ९२ रनले पराजित गरेको हो ।
नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमै अल आउट हुँदै ४५ रन मात्रै बनायो । नेपालका रसिद खानले ३ विकेट लिँदा बसिर अहमदले २ तथा रूपेस सिंहले १ विकेट लिएको हो ।
रसिद खानले एकै ओभरमा तीन विकेट लिँदै भारतलाई अल आउट गरेका थिए । रसिद खानले अफगानिस्तानविरूद्धको खेलमा ह्याट्रिक गरेका थिए ।
भारतका लागि भरत चिपली र प्रियंक पञ्चलले १२र१२ रन बनाए । कप्तान दिनेश कार्थिक र शहबाज नदीमले ७-७ रन बनाए । स्टुअर्ट बिनी शून्यमा आउट भए ।
पहिले ब्याटिङ गरेको नेपालले विकेट नगुमाइ १३७ रन जोडेको थियो । नेपालका लागि रसिद खानले ५५ रन बनाए। उनले १७ बलमा ४ चौका र ६ छक्का हाने । ५५ रन जोडेपछि उनी ‘रिटायर्ड हर्ट’ लिएका थिए ।
सन्दीप जोराले १२ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ४७ रन बनाए । त्यस्तै लोकेश बमले ७ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३१ रन जोडे । बउल लिगको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो ।
त्यसअघि मुख्य लिग (कप लिग) मा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो । कप लिगबाट बाहिरिएका टोलीहरूबीच बउल लिग खेलाइन्छ। बउल लिगका शीर्ष दुई टोलिबीच फाइनल हुनेछ ।















