पार्टी त्यागेकालाई फर्किन उपेन्द्र यादवको आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।

विभिन्न कारण र कालखण्डमा पार्टी छाडेका नेता कार्यकर्तालाई सङ्कोच अप्ठ्यारो नमानी आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दै उनले स्वागतको लागि जसपा नेपालको ढोका खुला रहेको अध्यक्ष यादवले अपिल गरेका हुन् ।

ललितपुरको इमाडोलमा अध्यक्ष यादवको अध्यक्षतामा बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले पनि विगतका दिनमा सङ्गठन छाडेका नेता कार्यकर्ताहरूलाई पार्टीमा फर्किन आह्वान गर्दै आउनेलाई स्वागत गर्ने निर्णय गरेको छ ।

‘पार्टी स्थापनाकालदेखि विगतमा जे जस्तो कारणले असन्तुष्ट भएर पार्टी छाडे पनि उहाँहरू सबैलाई जसपा नेपालमा स्वागत छ, आफ्नो पुरानै घरमा फर्किन आह्वान गर्दछु,, अध्यक्ष यादवले भने, ‘जसपा नेपाल हामी सबैको साझा सङ्गठन भएकोले जुनै कारणले पार्टी परित्याग गरे पनि पुनः फर्किन कसैले दुःख, धक, सङ्कोच वा अप्ठ्यारो मान्नु पर्दैन ।’

पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरूलाई सम्पर्कमा आउन अपिल गर्दै उनीहरूको क्षमता, दक्षता, भूमिका र योग्यता अनुसार पार्टीमा उचित स्थान र जिम्मेवारी दिइने अध्यक्ष यादवले बताएका छन् ।

मुलुकमा विकसित परिदृश्यलाई मध्यनजर गर्दै पार्टीलाई थप सङ्गठित, समावेशी र बृहत् बनाउने उद्देश्यले पार्टी छाडेकाहरूलाई पुरानै घर फर्काउने अभियान जसपा नेपालले प्राथमिकताका साथ सञ्चालन गर्ने बताइएको छ ।

  • २१ कार्तिक २०८२, शुक्रबार १६:४३ प्रकाशित