पोखरा ।
‘मानवताको लागि मिलेर सेवा गरौं’ भन्ने मुल नाराका साथ स्थापित बालबालिकाको क्षेत्रमा कृयाशिल सामाजिक संस्था असल छिमेकी सहयोग संघ (गोनेसा) नेपाल पोखराको २४ औं साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै जिसस कास्कीका प्रमुख पौडेलले सामाजिक संघ संस्थाहरू राष्ट्रको समृद्धिका सहयात्री रहेको बताए ।
प्रमुख पौडेलले गैरसरकारी संस्थाहरूले नेपालको विकासको निम्ति खेलेको भूमिका अतुलनीय रहेको र गैससहरू पार्दशिता, जवाफदेहीतामा अब्बल हुन आग्रह गरे ।
वरिष्ठ अधिकारकर्मी एवं गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले संस्थाद्वारा दिगो विकास लक्ष्यको तीन र चार अनुरूप परियोजनाहरू कार्यान्वयन गर्दै आएको बताए ।
२०५६ साल देखी अनौपचारिक (सुकुम्बासी बस्ती) मा बसोबास गर्ने बालबालिकाको न्यूनतम आवश्यकता शिक्षा, स्वास्थ्य,पोषण, जिविकोपार्जन, जलवायु परिवर्तन, सरसफाइ र आर्थिकसामाजिक रूपान्तरणलाई निरन्तर सहयोग गर्दै आएको छ ।
बालबालिकाको सुरक्षित तथा गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न यस वर्ष दुई वटा नयाँ भवन निर्माण सम्पन्न गरिएको छ । चोरसाँघुमा नयाँ बालविकास भवन तथा नयाँबजार शान्तिवनमा अर्को नयाँ भवन निर्माण सम्पन्न गरिएको छ । यसैगरि रातोपैरामा रहेको बालविकास भवनलाई पोखरा महानगर १७ को आर्थिक सहयोगमा मर्मत तथा स्तरोन्नति गरिएको छ ।
संस्थाको प्रारम्भिक बाल विकास कार्यक्रम अन्तर्गत करिब २ सय ७६ जना साढे दुई वर्ष देखि पाँच बर्ष उमेर समूहका बालबालिकाहरूले बालविकास केन्द्रबाट सेवा लिएका छन् ।
त्यसैगरी, न्यून आय भएका तथा विपन्न परिवारका बालबालिकालाई सामुदायिक विद्यालयमा निरन्तर शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले यस आर्थिक बर्षमा ३ सय ७८ जना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरेको गोनेसाले जनाएको छ। जस अनुसार १७३ बालक र २०५ बालिका रहेका छन् ।
बालबालिकाहरूलाई स्टेशनरी, विद्यालय पोशाक, झोला तथा परामर्श सेवा प्रदान गरिएको छ ।पोखरा महानगर क्षेत्र भित्र स्थानीय समुदायमा आधारित १२ ओटा बाल विकास केन्द्रहरू संचालनमा रहेका छन् ।
सो संस्थाले बालविकास केन्द्र स्थापना र दैनिक केन्द्र संचालन ,बालविकासका लागि पोषण ,अभिभावक सचेतना कार्यक्रम ,बालविकास सहजकर्ताहरूको तालिम,बालविकास केन्द्र मर्मत सम्भार र पुनःनिर्माण,बालबालिका विधालय भर्ना सहयोग कार्यक्रम , स्वास्थ्य सेवा कार्यक्रम ,सामुदायिक विकास परियोजना, जलवायु उन्थानशिलता तथा अनुकुलन कार्यक्रम दिवस समारोह सम्बन्धि विशेष कार्यक्रम ,नागरिक समाजका संस्था र सञ्जाल संगको समन्वय र सहकार्य लगायतका काम गर्दै आइरहेको छ।














