काठमाडौं ।
जिल्ला प्रहरी परिसर काठमाडौंले दसैँ र तिहारको सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक सुरक्षा योजनाअनुसार काठमाडौं जिल्लामा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिनेछ ।
भद्रकालीस्थित परिसरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापाले सादा पोशाक र बर्दीमा सुरक्षाकर्मी परिचालन गर्ने गरी योजना लागू गरिएको बताए ।
उनले भने, ‘चाडपर्व अवधिभर ३५ सय ६ जना सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएका छौँ ।’ जोखिम बढेमा प्रहरीको संख्या थप गरिने उनले बताए ।
दसैँ र तिहारमा चोरी, ठगी, लुटपाट र सार्वजनिक स्थानमा दुर्व्यवहार हुन सक्ने सुरक्षा चुनौती आकलन गरिएको उनले बताए । उनले भने, ‘चोकमा झोला तानेर दुर्व्यवहार हुन सक्छ, त्यसलाई पनि हामीले चुनौतीको रूपमा लिएका छौँ ।’
चाडपर्वको सुरक्षाका लागि २२ प्रकारका ड्युटीमा प्रहरी परिचालित हुनेछन् । नाकामा कुकुर परिचालन गरेर चेकजाँच र सीसीटीभीबाट सुरक्षा निगरानी गरिने उनले बताए ।













