काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा फर्कन चाहनेहरूलाई ढोका खुला भएको बताएका छन् ।सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
नेकपा एकीकृत समाजवादी फुटेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घर फर्कन नेताहरूलाई अपिल गरेका थिए ।यसैबीच सोमबार पोखरेलले पनि घर सन्तानहरू फर्कंदा कुनै अनुमति लिन नपर्ने बताए । तर, घर फर्कंदा पार्टीको नीति र नेतृत्वमा भने विवाद गर्न नपाइने शर्त राखेका छन् ।
‘नेकपा एमालेबाट अलग भएकाहरूको सन्दर्भमा केन्द्रीय कमिटीको बैठकबाटै निर्णय गरेका छौं । आफ्नो घर फर्कनका लागि कुनै एकता गरिरहनु पर्दैन । घरका सन्तानहरू कोही बाहिर गएपछि घर आउँछु भन्दा अनुमति लिनुपर्छ रु आउनुस्,’ उनले भनेका छन् ।
क्षमताका आधारमा पार्टीले तपाईंहरूलाई यथोचित जिम्मेवारी प्रदान गर्ने पनि उनले बताए ।
‘तर, शर्त एउटै छ नीति र नेतृत्वका प्रश्नमा चाहीँ सहमति गरेर आउनुस् । बहस विवाद गर्न आउने कुरामा पार्टी सहमत हुन सक्दैन । यी दुई वटा प्रश्नमा सहमत हुने जो कोहीका लागि नेकपा एमालेको ढोका सधैं खुला छ,’ पोखरेलले भनेका छन् ।















