नयाँ वानेश्वरमा कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरिरहेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छलफलमा रहेको केन्द्रीय सदस्य शङ्कर भण्डारीले जानकारी दिए ।

भेलामा पार्टीको कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छन् । भेलामा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् । विश्वकर्मा पार्टीको प्रचार विभाग प्रमुखसमेत हुन् ।

केन्द्रीय सदस्य महरले कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले छलफल गरिरहेको जानकारी दिए ।केन्द्रीय सदस्य भण्डारीले केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा कसरी संकटको निकास निकाल्ने भनेर छलफलमा रहेको जानकारी दिए ।

आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय गर्नका लागि दबाब दिने तयारी पनि भेलाबाट गरिएको सहभागीहरूले बताएका छन् ।

केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गर्न नेतृत्वलाई सुझाउने तयारी उनीहरूको छ ।

  • १७ कार्तिक २०८२, सोमबार १२:१९ प्रकाशित