काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।
आज दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित गरिएको हो।मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज धोविघाटमा पदाधिकारी बैठक राखेका थिए। उक्त बैठकमा पनि महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक नै स्थगित गरिएको हो।
महाधिवेशन कार्यतालिकाबारे शनिबार पदाधिकारी बैठकमा छलफल भए पनि सहमति जुट्न सकेको थिएन।महाधिवेशन कार्यतालिका नल्याउने भए आफू केन्द्रीय समिति बैठकमै उपस्थित नहुने महामन्त्री गगन थापाले बताउँदै आएका छन्।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने बताइरहेका छन्।महामन्त्रीद्वय थापा र शर्माले ढिलोमा पुसभित्रै महाधिवेशन गर्नुपर्ने बताएका छन् भने सभापति शेरबहादुर देउवा पक्षले वैशाख अन्तिममा महाधिवेशन गर्न सकिने बताएका छन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर विशेष महाधिवेशन पनि माग गरेका छन्। नियमित महाधिवेशन नगरे विशेष महाधिवेशन बोलाउन कार्यवाहक सभापति खड्कामाथि दबाब छ।















