काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा सचिवालय बैठकमा अनुपस्थित भएका छन् । पार्टी एकताबारे निर्णय लिन बिहान ९ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडा जारी बैठकमा शर्मा सहभागी नभएको एक नेताले बताए ।
‘जनार्दनबाहेक अन्य नेताहरू बैठकमा सहभागी हुनुहुन्छ । बैठक अहिले जारी छ’, ती नेताले भने । शनिबार बसेको सचिवालय बैठकमा शर्माले पार्टी एकताको विपक्षमा उभिएका थिए । तीन बुँदे लिखित धारणा राखेर बाहिरिएका थिए । शर्माको सचिवालयले पनि बैठकमा सहभागी नभएको जानकारी दिएको छ ।
शर्माले वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी हतारमा एकता गर्न नहुने पक्षमा उभिएका छन् । हतारोको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा हुने तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकुल परिणाम ल्याउने शर्माको निष्कर्ष थियो । त्यसैले एकीकृत समाजवादीसँगको एकता रोक्नुपर्ने उनको भनाइ थियो















