काठमाडौं ।
नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने उत्कर्षमा पुगेको विवाद समाधानका लागि अहिले कार्यसम्पादन समिति बैठक बसिरहेको छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बसिरहेको बैठकमा केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्न नपाएको भन्दै बैठक बहिष्कार गर्दै आएका महामन्त्री गगन थापा पनि उपस्थित छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहान १० बजेबाट जारी बैठकमा दुवै पक्षले प्रस्ताव गरेका समयलाई मिलाएर महाधिवेशनको नयाँ तालिका बनाउने विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् । महाधिवेशन कार्यतालिकाबारे शनिबार पदाधिकारी बैठकमा छलफल गरिए पनि सहमति भएको थिएन ।
बिहीबारको केन्द्रीय समिति बैठकमा महामन्त्री थापा अनुपस्थित भएका थिए । शुक्रबार पनि थापाले अनुपस्थित नहुने बताएपछि सूचना टाँसेर आइतबार ९आज० १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
अझै पनि थापाले महाधिवेशन कार्य तालिका नल्याइए आफू केन्द्रीय समिति बैठकमा अनुपस्थित हुने बताइरहेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म गर्ने गरी १५ औँ महाधिवेशन कार्य तालिका ल्याउने वैकल्पिक प्रस्ताव राखेका छन् । कांग्रेसमा महामन्त्रीद्वय थापा र शर्माले पुससम्म महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् भने संस्थापनले वैशाख अन्तिममा महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ ।
युवा नेताहरूले भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरेर कार्यवाहक सभापति खड्कालाई बुझाएका छन् । एक नेताले सहमतिका लागि विकल्पमा कुरा भइरहेको बताए । तर, सहमति हुने सम्भावना कम देखिएको पनि ती नेताको भनाइ छ ।















