काठमाडौं ।
विभिन्न सातवटा कम्युनिष्ट पार्टी बीच एकता हुने भएको छ । नेकपा माओवादीका नेता अग्नि प्रसाद सापकोटाका अनुसार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित एकता गर्ने गरी टुंगो लागेका पार्टीको संख्या सात पुगेको हो ।
जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विद्रोह गरेर बनेको महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।
यस अलावा नेकपा एमालेमा विद्रोह गरेर बनेको प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी र विप्लवको पार्टीमा विद्रोह भएर बनेको चिरण सी नेतृत्वको समूह एकता प्रक्रियामा सहभागी हुने टुंगो लागेको उनले जानकारी दिए ।
एकताको विषयमा छलफल गर्न शनिबार माओवादी केन्द्रको पार्टीको सचिवालय बैठक नै राखेको थियो । बैठकपछि सापकोटाले एकताबारे नै छलफल भएको बताए ।















