एमालेबाट विद्रोह गर्नुको आचित्य पुष्टि भइसकेको छ : माधव नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि भएको बताएको दाबी गरेका छन् । पार्टीको बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा विद्रोहको औचित्य पुष्टि भइसकेको उनले दाबी गरेका हुन् ।

प्रतिवेदनमा उनले उल्लेख गरेका छन्, ‘हाम्रो विद्रोह अनुचित थिएन, उचित थियो । विद्रोह गर्नुका कारणहरू उचित थिए र विद्रोह गर्नु अत्यावश्यक थियो । हामीले विद्रोह पार्टीभित्रको आन्तरिक अन्तर्विरोध र वैचारिक संघर्षका कारणले मात्र गरेका होइनौं,’ नेपालको दाबी छ , ‘विद्रोहको पृष्ठभूमिमा हाम्रो यो वैचारिक संघर्ष र प्रतिवाद पनि थियो तापनि हामीले खुल्ला रुपमा विद्रोह तव गर्‍यो जब पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले २०७७ पुस ५ मा असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने काम गरे ।’

नेपालले लोकतन्त्रको रक्षाका लागि त्यतिबेला कांग्रेस, माओवादीसँग सहकार्य गरी एमालेबाट विद्रोह गर्नु उचित भएको दाबी गरेका छन् ।

‘हाम्रो विद्रोह नेपाली जनताले कठोर संघर्ष गरेर ल्याएको लोकतन्त्रको रक्षार्थ गरिएको जायज विद्रोह थियो । त्यो विद्रोह आवश्यक र औचित्यपूर्ण थियो,’ उनले भनेका छन्, ‘हामीले प्रतिनिधिसभालाई बचाएर संविधान र लोकतन्त्रको रक्षा गर्ने जुन उद्देश्यले विद्रोह गरेका थियौं त्यो उद्देश्य पूरा भएकोले विद्रोहको औचित्य पुष्टि भैसकेको छ ।’

  • १२ कार्तिक २०८२, बुधबार १८:३० प्रकाशित