काठमाडौं ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको संस्थापन समूहको बैठक जारी छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बैठक जारी रहेको एक नेताले जानकारी दिए ।
बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरूलाई बोलाइएको एक पदाधिकारीले जानकारी दिए ।कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएपछि खड्काले बोलाएको गुटको यो चौथो बैठक हो ।
देउवाले उपसभापति खड्कालाई गत असोज २८ बसेको केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।
त्यसपछि खड्काले असोज २९ र ३० गते तथा कात्तिक ८ गते बुधबार बैठक बसिरहेकै स्थान सिद्धार्थ कटेजमा संस्थापन पक्षीय नेताहरूको बैठक राखेका थिए ।
बैठकमा जारी केन्द्रीय समिति बैठकका एजेण्डा र पार्टीको १५ औँ नियमित महाधिवेशनबारे छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए ।
महाधिवेशनको मिति भने सर्वसम्मत तरिकाले पास गर्न नेताहरूले कार्यवाहक सभापति खड्कालाई सुझाइरहेका छन् ।आजको छलफलमा मुख्यगरी विशेष महाधिवेशनका लागि विशेष कारण खुलाएर बुझाइएको हस्ताक्षर र महाधिवेशनका बारेमा छलफल भइरहेको स्रोतले बताएको छ ।















