काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचन वातावरण निर्माण गर्न सरकारले आज पहिलोपटक राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग वार्ता गर्दैछ । त्रिपक्षीय छलफलका लागि जेनजी प्रतिनिधि र दलका नेताहरूलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अपराह्न ४ बजे हुने छलफलमा जेनजीका तर्फबाट १४ जना, राजनीतिक दलका तर्फबाट १६ जना र प्रधानमन्त्री सुशीला कार्कीसहित २ जना मन्त्री सहभागी हुनेछन् । छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि सहभागी हुनेछन् ।
‘छलफलमा जेनजीका तर्फबाट १४ र दलका तर्फबाट १६ जना सहभागी हुने लगभग निश्चित भएको छ’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘नामहरू फेरबदल समेत हुनसक्ने भएकाले अहिले नै नखुलाउँदा उपयुक्त होला ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो ।















