आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपालसामु अमेरिकाको २६३ रनको लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा ।

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपाललाई अमेरिकाले २६३ रनको लक्ष्य दिएको छ ।

युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रन बनायो ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि अमेरिकाले पहिले ब्याटिङ गरेको हो । अमेरिकाका लागि ओपनिङ ब्याटर स्मित पटेलले ७५ रन बनाए । ३३ औं ओभरमा गुल्सन झाको थ्रोमा सोमपाल कामीबाट रनआउट हुनुअघि उनले १०० बल खेलेर ९ चौका प्रहार गरे ।

अर्का ओपनर आन्द्रेस गौसलाई आठौं ओभरमा करण केसीले भीम सार्कीबाट ११ रनमा क्याच गराए । कप्तान मोनाक पटेललाई आरिफ शेखले १० रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा परेका थिए। सन्दीप लामिछानेले मुकामालालाई ४२ रनमा बोल्ड गरेका थिए ।

यस्तै शायन जाहानगिरलाई दीपेन्द्रसिंह ऐरीलाई ११ रनमा आउट गरे । यस्तै सन्दीप लामिछानले शुभम रन्जनीलाई १९ रनमा गुल्झन झाबाट क्याच गराए । नटआउट रहेका मिलिन्ड कुमारले ७० रन बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे । हर्मित सिंहले ६ बलमा २ छक्का प्रहार गर्दै नटआउट १६ रन बनाए ।

बलिङमा सन्दीपले २ विकेट लिए । उनले १० ओभरमा ५६ रन खर्चिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १-१ विकेट लिन सफल भए । करण केसीले सुरूवाती नौ ओभरको आफ्नो स्पेलमा २ मेडनसहित ३७ रन खर्चिएपछि अन्तिम ओभरमा २ छक्का र १ चौकासहित १९ रन खर्चिएका थिए ।

खेलमा नेपालले आठ बलर प्रयोग गर्‍यो। कप्तान रोहित पौडेल, विकेटकिपर आसिफ शेख र भीम सार्कीबाहेक बाँकी खेलाडीले बलिङ गरेका थिए ।

युएईमा नेपालले दुवै देशसँग २ २ खेल खेल्नेछ । नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ । त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ ।

  • ९ कार्तिक २०८२, आईतवार १५:०६ प्रकाशित