पोखरा ।
पोखरा महानगरपालिका ५ पस्र्याङका अनिल पराजुलीको हत्या भएको छ । कास्की प्रहरीले ४५ वर्षीय अनिल पराजुलीको बिहान ४ः३० बजे हत्या भएको जानकारी दिएको हो । प्रहरीले हत्याको अभियोगमा सोही ठाउँका अन्दाजी २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार सामान्य विवादमा तिमिल्सिनाले पराजुलीलाई कुटपिट गरि हत्या गरेका हुन् ।
‘प्रारम्भिक सोधपुछमा सामान्य विवादमा आक्रमण गरी हत्या गरिएको देखिएको छ, आक्रमणकारीलाई नियन्त्रणमा लिएका छौँ, घटनाको थप अनुसन्धान र सोधपुछ भइरहेको छ,’ प्रवक्ता बस्नेतले भने ।
पक्राउ परेका तिमिल्सिनाको साथबाट चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले घर नजिकैबाट नियन्त्रणमा लिएको थियो ।
ज्यान गुमाएका पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।















