काठमाडौं।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रक्रिया पूरा गरेका छन्। आइतबार आयोग पुगेर साम्पाङले दल दर्ताका लागि भौतिक रूपमा सनाखत गरेका हुन्।
उनले गत असोजमा ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। साम्पाङले ‘माटो’ चुनाव चिह्नका साथ आगामी निर्वाचनमा होमिने बताएका छन्। उनले देशमा अप्ठेरो काम गर्न आफू आएको र अब देशलाई अघि बढाउन आफूले भूमिका खेल्ने जिकिर गरे।
जेनजी आन्दोलनपछि मुलुकलाई निकास दिन आफू काठमाडौं आए पनि जेनजी भित्रको विवादले गर्दा आफू धरान फर्किएको उनको भनाइ छ। दल दर्ता प्रक्रिया पूरा भएसँगै मेयर साम्पाङको राजनीतिक यात्राले नयाँ मोड लिएको छ।















