काठमाडौं ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनको मुख्य मतियार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौं महानगरपालिकाका मेयर बालेन, रास्वपा सभापति रवि लामिछाने भएको आरोप लगाएका छन् ।
साथै, उनले प्रचण्डलाई कारबाही गर्न समेत माग गरेका छन् ।बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई ‘लुसिफर’, रास्वपा सभापति रवि लामिछानेलाई जेल तोडेर जनता झुक्याउने व्यक्ति रहेको जिकिर गरे ।
‘ब्ल्याक–एनर्जीको प्रतिक ‘लुसिफर’ को नामले चिनिँदै आएको बालेन, जेल तोडेर जनता झुक्याउन खोजिरहेका रवि लामिछाने, उनको स्वतन्त्र पार्टी र मौकामा चौका हान्ने प्रचण्ड यी आन्दोलनका मुख्य मतियार हुन् । यीनलाई उचित कारबाही गर्नुपर्छ,’ बस्नेतले बैठकमा भनेका छन् ।
जेनजी आन्दोलन नेपाली र वास्तविक जेनजी पुस्ताका माग व्यवस्था परिवर्तन नभएको उनको भनाइ छ ।
‘उनीहरूको असन्तोष भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालमा आफ्नो आवाजको पहुँच घट्ने डरसँग जोडिएको थियो । तर बाह्य शक्तिहरूले यही असन्तोषलाई प्रयोग गरेर देशविरोधी दिशामा मोडिदिए,’ बस्नेतले भने ।















