ओमान विरुद्ध नेपालको सानदार जित

केन्द्रभाग मिडिया

पोखरा ।

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा घरेल टोली ओमान विरुद्ध नेपालले सानदार जित निकालेको छ । बुधबार नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा ११३ रन मात्र जोड्न सक्यो । ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाउँदा अरु ब्याटर चल्न सकेनन् ।

बलिङमा नेपालका गुल्झन झाले ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवको नाममा २-२ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिटमार्फत् एक रनआउट गरे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन जोड्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । कुशलले ६९ रन जोड्ने क्रममा ५१ बलमा ७ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर आसिफ शेखले २४ रन जोडे ।

रोहित पौडेल १ रन, दीपेन्द्रसिंह ऐरी २ रन र कुशल मल्ल ७ रनमा आउट हुँदा नेपालले मध्य ओभरमा दबाब झेल्न परेको थियो । आदिल अन्सारीले १५ बलमा १६ रन र गुल्झन झाले १८ रन बनाए । आदिलले १५ बलमा ३ चौका र गुल्झनले १० बलमा २ छक्का प्रहार गरे । नन्दन यादवले ९ रन जोड्दा सोमपाल कामी १ रन र लोकेश बम शून्यमा आउट भए ।

बलिङमा ओमानका नदीम खानले ४ विकेट लिए । ओमान विरुद्ध जित निकालेसंगै नेपाल उपाधि नजिक पुगेको छ । यसअघि नै टी-२० विश्वकपमा छनोट भइसकेको नेपालले घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै ८ अंक पुर्‍याउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । दोस्रो स्थानको ओमानको ६ अंक छ ।

अब सुपर-६ को अन्तिम दिन शुक्रबार नेपालले सामोआसँग खेल्नेछ । सो खेलमा जित निकाले नेपालले छनोटको उपाधि जित्नेछ ।

यसअघि बुधबार दिउँसो युएईले सामोआलाई पराजित गरेपछि नेपाल र ओमान अन्तिम दुई खेलअघि नै आगामी फेब्रुअरी/मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपमा पुगेका थिए । अब युएई र जापान मध्ये एक टोली एसियाबाट विश्वकपमा पुग्नेछ ।

 

  • ३० आश्विन २०८२, बिहीबार ००:२२ प्रकाशित