काठमाडौं।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गर्न बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सहितका चार दल सहभागी भएनन् ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा जारी बैठकमा सभामुखले १० राजनीतिक दललाई बोलाएकोमा चार दल अनुपस्थित भएका हुन् ।
बैठकमा रास्वपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी नभएका हुन् । सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले १० दलको बैठक बोलाइएकामा ६ दलका प्रतिनिधि मात्रै उपस्थित भएका जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ९एकीकृत समाजवादी०, र जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सहभागी छन् ।
प्रतिनिधिसभा पुरस्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन घिमिरेले राजनीतिक दलहरूको राय माग्न बैठक बोलाएका हुन् ।
बैठकमा कांग्रेसबाट विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, नेकपा ९माओवादी केन्द्र०बाट प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक ज्ञानबहादुर शाही, जसपा नेपालबाट रेखा यादव र नेकपा ९एकीकृत समाजवादी०बाट राजेन्द्र पाण्डे सहभागी छन् ।
सभामुख घिमिरेले बिहीबार कानुन व्यवसायीहरूको बैठक बोलाएका छन् ।














