विप्लव नेतृत्वको नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । जेनजी विद्रोह पछिको पछिल्लो अवस्थाको संश्लेषण, वापमन्थी एकता र ध्रुवीकरण, विशेष महाधिवेशनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बोलाएको स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।

विरहीका अनुसार बैठक कपिलवस्तुस्थित शिवगढीमा दिउँसो २ बजे बस्दैछ । शनिबार बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो । नेकपा माओवादी केन्द्र लगायत वामपन्थी दलहरूसँग एकता गर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने विरहीले बताए ।

नेकपाका महासचिव विप्लवले असोजको दोस्रो हप्ता काठमाडौँ आएका बेला माओवादीका संयोजक प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूसँग भेटेर एकताबारे छलफल गरेका थिए ।

यसअघि भदौ २३ देखि २६ गतेसम्म बसेको नियमित केन्द्रीय समिति बैठकले आगामी फागुनमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । बैठक बसिरहेकै बेला जेनजी विद्रोहका कारण राजनीतिक उथलपुथल भएपछि विप्लवले एक महिनामै आकस्मिक बैठक बोलाएका हुन् ।

  • २६ आश्विन २०८२, आईतवार ११:२८ प्रकाशित