रफाह ।
इजरायली सरकारले युद्धविराम सम्झौता अनुमोदन गरेको २४ घण्टापछि शनिबार बिहान गाजामा युद्धविराम लागू हुने भएको छ । युद्धविराम सुरु भएको ७२ घण्टाभित्र बन्धकहरूलाई रिहा गरिनेछ । हमासको कब्जामा ४८ जना बन्दी छन् ।
यीमध्ये बिस जना बन्धकहरू अझै जीवित रहेको विश्वास गरिन्छ । नेपाली बन्धक विपिन जोशी र अर्का एक बन्दीको अवस्था अज्ञात छ भने अरू बन्दीको मृत्यु भइसकेको आशङ्का गरिएको छ । यी बन्धकहरूको बदलामा, इजरायलले आफ्नो जेलबाट सयौँ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्झौताको वार्तामा सहयोग गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । ट्रम्पले पेस गरेको २० बुँदे सम्झौतामा इजरायल र हमासले सहमति गरेका छन् ।















