राष्ट्रिय सभाको अधिवेशन छठपछि बोलाउने तयारी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने तयारी भएको छ । सभा सञ्चालनका लागि सिंहदरवार भित्रै रहेको राष्ट्रिय सभाको पूरानो सभाकक्षलाई व्यवस्थापन गरिँदैछ ।

संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्लेका अनुसार सभा बस्नका लागि हलको टुंगो लागेपछि व्यवस्थापनको काम सुरु गरिएको हो । उनले भनेकी छन्, ‘पहिलेको राष्ट्रिय सभा अहिलेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हललाई सभा बसाउनको लागि तयारी भइरहेको छ ।’

सहरी विकास मन्त्रालयको टोलीले निरिक्षण गरेपछि उक्त हलमा व्यवस्थापन गर्ने गरी काम सुरु भएको हो । उनका अनुसार हाल हल रहेको स्थानमै अगाडि ड्यास बनाइनेछ, दर्शकदिर्घा बनाइनेछ । सभाको लागि आवश्यक अन्य व्यवस्थापन गरिनेछ ।

यो काम सरकारसँगको समन्वयमै भएको उनले जानकारी दिइन् ।राष्ट्रिय सभाको मात्रै अधिवेशन बोलाउन सक्ने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै उनले सभा बसेपछि सांसदहरूले संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरूमाथि छलफल हुन सक्ने बताइन् ।

  • २३ आश्विन २०८२, बिहीबार १५:३५ प्रकाशित