काठमाडौं ।
आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन् ।
कार्यतालिकाअनुसार १ देखि १० मंसिरसम्म राजनीतिक दल दर्ता हुनेछ । पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईको भनाइ छ ।
नयाँ दल दर्तादेखि निर्वाचन, प्रचारप्रसार लगायतका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको आयोगले ३ फागुन १८ फागुनसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ भने १८ फागुन देखि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ ।
निर्वाचनको दिन २१ फागुनको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ र मतपेटिका सङ्कलनपछि मतगणना सुरु गरिनेछ । समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८पुस देखि १९ पुससम्म बन्दसूची पेस हुने कार्यक्रम छ ।














