ओलीको राहदानी रोक्नु प्रतिशोधपूर्ण कार्य : युवा संघ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय गरेकोमा गम्भीर आपत्ति प्रकट गरेको छ ।

संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयलाई विशुद्ध राजनीतिक प्रतिशोध र पूर्वाग्रहमा आधारित रहेको आरोप लगाएको छ ।

युवा संघले आफ्नो विज्ञप्तिमा सरकारले २०८२ सालको जाँचबुझ आयोगको कुनै आधार वा प्रमाणबिनै प्रारम्भिक चरणमा नै ओलीमाथि शंका गरेर राहदानी रोक्ने निर्णय गरेको भन्दै त्यसको निन्दा गरेको हो । छानबिन नै नगरी कसैलाई अपराधी करार गर्ने गरी गम्भीर प्रकृतिको निर्णय गर्नु आपत्तिजनक रहेको संघका अध्यक्ष क्षितिज थेवेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

युवा संघले यो घटनालाई पूर्व प्रधानमन्त्रीको सम्पूर्ण जीवन देश र नेपाली जनताको हितमा समर्पित भएको तथ्यलाई समेत उपेक्षा गर्दै गरिएको अराजनीतिक कार्यका रूपमा लिएको छ ।

संघले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने तयारी भइरहेको भन्दै सरकारलाई यस्ता क्रियाकलापबाट पछि हट्न जोडदार माग गरेको छ ।

यसै सन्दर्भमा युवा संघले गृह मन्त्रालयले गत भाद्र २४ गतेको विध्वंसकारी गतिविधिमा संलग्न हुनेहरूलाई नियमित कानुनी कारबाही नचलाउने भनी गरेको निर्णयप्रति पनि कडा आलोचना गरेको हो । संघले गृह मन्त्रालयको सो निर्णय अत्यन्तै दुखद् र निन्दनीय रहेको र यसले कानुनी राज्यको उपहास गरेको ठहर गरेको छ ।

युवा संघले उक्त निर्णय तत्काल सच्याउन र नेपाल प्रहरीको मनोबल उच्च राख्न समेत माग गरेको छ ।

युवा संघले सरकारलाई मुलुकलाई लोकतान्त्रिक बाटोमा डोर्‍याउनुको सट्टा अनावश्यक रूपमा राजनीतिक प्रतिशोध र पूर्वाग्रहमा अल्झिएको आरोप लगाएको छ । संघले जेएन जेडी लगायतका युवा आन्दोलनका मागहरूप्रति सचेत रहेको जनाउँदै सरकारको मुख्य जिम्मेवारी शान्तिपूर्ण, निष्पक्ष र भरपर्दो आम चुनाव गराउनु रहेकोमा जोड दिएको छ । अनावश्यक राजनीतिक प्रतिशोधको बाटो नलाग्न युवा संघले सरकारलाई सचेत गराएको छ ।

  • १४ आश्विन २०८२, मंगलवार १३:३९ प्रकाशित