सुदूरपश्चिमका रावतले जिते दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि

केन्द्रभाग मिडिया

पोखरा ।

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले जितेका छन् । राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उनले नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गौतम श्रेष्ठ चौथो हुँदै सात हजार जिते भने पाँचौं भएका सफल लामाले तीन हजार प्राप्त गरे । छैटौंदेखि दशौंसम्म क्रमशः पञ्चराम बुढा, बुद्धिराम गुरुङ, जोगेन्द्र बुढा, तेञ्जोन रोका मगर र इमोन गुरुङले जनही एक हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ः५१ मिनेटमा पूरा गर्दा भेट्रान्सतर्फ गण्डकीबाट किशोर थापा प्रथम भए । किशोरले उक्त दुरी ५१ः०१ मिनेटमा पूरा गरे । उनीहरूले जनही १५ हजार प्राप्त गरे । वडा २२ स्तरतर्फ कुशल परियार प्रथम र सुज्जल परियार दोस्रो भए । उनीहरूले क्रमशः ४९ः१५ र ५१ः०३ मिनेटमा दूरी पूरा गरे ।

महिलातर्फ कोशीकी पदमकुमारी सुनुवारले ५३ः३९ मिनेटमा दूरी पूरा गरी प्रथम हुँदा बागमतीकी नीतु तामाङले ५७ मिनेट ४६ सेकेण्डमा पार गर्दै दोस्रो भइन् । वडा र महिलातर्फ प्रथम र दोस्रोले जनही १५ हजार र ७ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यू–१६ विधातर्फ प्रकाश थिङले ४२ः५८ मिनेटमा दूरी पार गर्दै प्रथम हुँदा तीलबहादुर परियार (३८) दोस्रो भए भने कमल पौडेलले (४९ः५६) तृतीय स्थान प्राप्त गर्न सफल भए । उनीहरू सबै गण्डकीका हुन् । प्रथम, दोस्रो र तेस्रोले जनही १५ हजार, सात हजार, तीनहजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा ८२ वर्षका पुम्दीभुम्दीका लीलबहादुर गुरुङलाई सिनियरतर्फ र ११ वर्षका गण्डकी बोर्डिङ स्कुलका आरोन नेपाललाई जुनियरतर्फ पुरस्कृत गरियो । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालसहित ८ देशको प्रतिनिधित्व थियो । विभिन्न ६ इभेन्टमा कुल १६७ जना धावकले अनलाइन फर्म दर्ता गराएका थिए । प्रतियोगितामा नेपालका सात प्रदेश र विदेशका बेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका, स्पेन र क्यानडासहित सात देशका ११७ धावक सहभागी भएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए ।

विश्व पर्यटन दिवस भएकाले दौड पूरा गरेका विदेशी धावकलाई पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले माला लगाई स्वागत गरे । पोखरा–२२ स्थित विश्वशान्ति स्तुपदेखि पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्कसम्म भएको दौडमा धावकलाई स्थानीयले ठाउँ ठाउँमा स्वागत गरेका थिए । दौडको सुरुवात प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ निर्देशक एवं प्रमुख मणिराज लामिछनेले गरेका थिए । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रतियोगिता संयोजक दीननाथ बरालले पोखराको पर्यटन तथा खेलकुदको विकासमा यो प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने बताए ।

 

  • १२ आश्विन २०८२, आईतवार ००:२६ प्रकाशित