टी-२०आई शृंखला

नेपाल द्वारा वेष्ट इन्डिज सामु १४९ रनको लक्ष्य प्रस्तुत

केन्द्रभाग मिडिया

पोखरा ।

वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर क्षतिमा १४८ रन जोडेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक रनको योगदान दिए । उनले ३५ बलमा ३ चौका र १ छक्कासहित ३८ रन बनाए । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

१२ रनमै २ विकेट गुमेको अवस्थाबाट रोहित र मल्ल मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । यद्यपी फिनिसिङ राम्रो हुन नसक्दा नेपाल १५० भित्रै समेटियो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । कप्तान अकिल होसेनले १ विकेट लिए ।

नेपालले हालसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई हराउन सकेको छैन । यस योगफल डिफेन्ड गर्दै जित निकालेमा नेपालले इतिहास रच्ने मौका छ ।

  • ११ आश्विन २०८२, शनिबार २२:०६ प्रकाशित