कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनः निर्माणका लागि १० लाख सहयोग गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनः निर्माणमा १० लाख सहयोगको घोषणा गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले पुनः निर्माण कोषमा जम्मा हुने गरी १० लाख सहयोग गर्ने निर्णय गरेको हो । उक्त बैठकले पुनः निर्माण कोष स्थापना गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले तत्काल पुनः निर्माण प्रक्रिया सुरु गर्न, पुनः निर्माणको विस्तृत योजना बनाउन र क्षतिको यकिन विवरण संकलन गर्न पनि आग्रह गरेको छ ।

जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशभित्र सार्वजनिक तथा निजी क्षेत्रका भौतिक संरचना र यातायातका साधनमा ठूलो क्षति पुगेको छ । तर कति क्षति भयो भन्ने प्रष्ट विवरण आइसकेको छैन । सबै विवरण छिटो संकलन गर्न पनि काँग्रेसले माग गरेको छ । यस्तै, जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूको शीघ्र पुनः निर्माणका लागि सामूहिक प्रयास आवश्यक भएको भन्दै दलले सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकले आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।यस्तै जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका मुद्दाहरूमा आफ्नो दल प्रतिबद्ध रहेको जनाएको छ ।

आन्दोलन पुर्व नै गण्डकी सरकारले लिएको चालू खर्च घटाउने, दरबन्दी कटौती गर्ने र कार्यालय समायोजनको निर्णय सुशासनमैत्री भएको बैठकको निर्णय छ ।

  • २ आश्विन २०८२, बिहीबार १७:१७ प्रकाशित