काठमाडौं।
प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ ।
प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदानबाट टुंग्याइने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।
सभामुख यादवको संयोजकत्मा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जका सांसदहरू र संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो ।
छलफलमा कुनै पनि प्रस्तावमाथि सहमति नजुटेको बताइएको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा दुई तिहाइ बहुमत चाहिन्छ ।