काठमाडौं।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले असोज ८ गते केन्द्रीय समितिको बैठक बोलाएको हो ।
जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै पार्टीको आगामी नीति तथा कार्ययोजना तय गर्न बैठक बोलाइएको प्रवक्ता कृष्ण शर्माले बताए । शर्माका अनुसार बैठकमा भाग लिन केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरु तथा जिल्ला संयोजकहरूलाई समेत आमन्त्रण गर्ने निर्णय गरिएको छ ।
हिजोको बैठकमा अध्यक्ष डा।बाबुराम भट्टराईले संविधान बचाउन सफल भएकोमा खुसी व्यक्त गरेका थिए । विदेशीको इसारामा देशभित्रका विभिन्न स्वार्थ समूहले विध्वंस मच्चाएको बैठकले निष्कर्ष निकालेको छ ।
‘जेनजी आन्दोलनमा संविधान मास्न चाहने तत्त्वहरूको घुसपैठ देखिएको छ । विदेशीको इसारामा विभिन्न स्वार्थ समूहले विध्वंस मच्चाए । भिरबाट खस्न लागिएको गाडीलाई जबरजस्ती भित्तामा ठोकाएर प्यासेन्जर बचाउन सफल भइएको छ । अहिलेलाई संविधान बाच्नु नै सबैभन्दा ठुलो कुरा हो, त्यसमा हामी सफल भयौँ’, भट्टराईको भनाइ उद्धृत गर्दै शर्माले बताए ।















