काठमाडौं ।
नेपाली कांग्रेसले पार्टीमा अनुशासनको कारबाही सिफारिस गरिएकाहरूको पनि सदस्यता नवीकरण गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिले पार्टी अनुशासन समितिलाई कारबाही सिफारिस गरिएकाको पनि सदस्यता नवीकरण गर्ने निर्णय गरेको समिति सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।
कांग्रेसमा २०७९ सालको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै पार्टीका विभिन्न तहले दुई हजार १०० भन्दा बढी नेता कार्यकर्तालाई अनुशासनको कारबाही गर्न सिफारिस गरेका छन् । निर्वाचन सम्पन्न भएको तीन वर्ष पुग्दा पनि अनुशासन समितिले परेका उजुरी फर्स्यौट नगरेपछि समितिले यस्तो निर्णय लिएको हो ।
यसअघि कांग्रेसमा अनुशासनको कारबाही सिफारिस भएकाको सदस्यता नवीकरण हुँदैनथ्यो । तर अहिले धेरै नेता कार्यकर्ता अनुशासनको कारबाहीका लागि सिफारिसमा परेका तर अनुशासन समितिले निर्णय गर्न नसकेकाले सदस्यता व्यवस्थापन समितिले यस्तो निर्णय लिएको छ ।















