काठमाडौं ।
प्रधानमन्त्रीको चीन भ्रमणमा दुई मन्त्री, दुई सांसदसहितका नेता एवं उच्च पदस्थ कर्मचारीहरू सहभागी हुने भएका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणमा जाने सदस्यहरूको जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीका अनुसार भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् ।
ओलीले आफ्नो चीन भ्रमणका क्रममा ६ राष्ट्रका प्रमुखसँग भेट गर्ने भएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका क्रममा भेट गर्ने राष्ट्रप्रमुखहरूको बारेमा जानकारी गराएका हुन् ।
चीनका महामहिम राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणा चीन जान लागेका उनले फिङलाई भेट्ने छन् ।
त्यस्तै उनले रूसी महासङ्घका महामहिम राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा। मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा। सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका महामहिम प्रधानमन्त्री श्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री श्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको ओलीले प्रतिनिधिसभामा जानकारी गराए ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली भदौ १४ देखि १८ ९तदनुसार सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३० सम्म ५ दिने भ्रमणमा जाँदैछन् ।













